नेप्से परिसूचक ५१ अंकले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ५१.११ अंक अर्थात् १.८५ प्रतिशतले घटेर २७०२.६५ को बिन्दुमा सीमित भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको हो।

नेप्सेका अनुसार मंगलबार परिसूचक अघिल्लो दिनको तुलनामा ५१.११ अंक अर्थात् १.८५ प्रतिशतले घटेर २७०२.६५ को बिन्दुमा सीमित भएको छ।

मंगलबार विभिन्न ३१० कम्पनीको दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर एक लाख पाँच हजार ८२७ पटक खरिदबिक्री भयो। जसबाट १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

अघिल्लो कारोबार दिन ३२६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर एक लाख १३ हजार २५२ पटक किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ १.११, विकास बैंक २.२९, वित्त २.३१, होटल तथा पर्यटन ३.१७ र जलविद्युत्को उपसूचक ३.०७ प्रतिशतले घटेको छ।

त्यस्तै, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन तथा प्रशोधन १.४८ र लघुवित्त १.५०, म्युचुअल फन्ड ०.१५, निर्जीवन बीमा १.६९ र अन्य समूह १.५८ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नारायणी विकास बैंक ७.२७, गुराँस लघुवित्त ५.८४, युनिक नेपाल लघुवित्त ५.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका छन्।

त्यस्तै, ङादी ग्रुप पावर ९.२५, समृद्धि फाइनान्स ८.५५, जानकी फाइनान्स ८.२०, धौलागिरि लघुवित्त ७.९४ र मोलुङ हाइड्रो पावरका लगानीकर्ताले ६.८५ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको शेयर ४६ करोड ६८ लाख ९९ हजार ८०५ रुपैयाँ बराबरको कारोबार भएको छ।