तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि

राष्ट्र बैंकको प्रतिवेदनअनुसार तरकारीको उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशतले वृद्धि भएको छ। 

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्यवस्तुको मूल्यवृद्धि भएको छ। मुख्य गरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो।

“२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ।”

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशतले वृद्धि भएको छ। जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो। त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले वृद्धि भएको छ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ। माछा तथा मासु उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४९, मदिराजन्य पेय पदार्थको ६.३२, कपडाजन्य तथा जुत्ता चप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५ प्रतिशतले वृद्धि भएको छ भने शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७६ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा कोशीको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६, मधेशको ५.०८, बागमतीको ४.२४ र गण्डकीको ३.९८ प्रतिशत रहेको छ। त्यस्तै, लुम्बिनीको ४.४२, कर्णालीको ३.२५ प्रतिशत र सुदूरपश्चिमको ६.५६ प्रतिशत रहेको छ।

काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५०, तराईको ५.२३, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ।