इजरायली आक्रमणबाट लेबनानमा २ महिनामा २०० भन्दा बढी बालबालिकाको मृत्यु

युनिसेफका प्रवक्ता जेम्स एल्डरले लेबनानमा घरबारविहीन भएका लाखौँ बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा कष्टकर अवस्थामा रहेको बताए।

फाइल तस्वीर

लेबनानमा हिजबुल्लाहलक्षित इजरायली आक्रमणमा दुई महिनाभन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मंगलबार जनाएको छ।

यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था देखा परेको जनाउँदै राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालिकाको मृत्यु र हिंसा रोक्न  अत्यावश्यक रहेको बताए।

उनका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ। एक हजार एक सय बढी बालबालिका घाइते भएका छन्।

हिजबुल्लाहले गत वर्ष अक्टोबरमा गाजामा प्यालेस्टिनी लडाकु समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो।

गत सेप्टेम्बरदेखि इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रलक्षित व्यापक अभियान सञ्चालन गरेको छ। यद्यपि केही आक्रमणले इरानसमर्थित उक्त समूहको नियन्त्रण बाहिरका क्षेत्रहरूमा प्रहार गरेका छन्।

इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप शुरू भएदेखि लेबनानमा तीन हजार ५०१ जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।  

गत वर्षको अक्टोबरमा गाजामा युद्ध शुरू भएदेखि लेबनानमा कम्तीमा २३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताए।  

लेबनानमा पनि गाजामा जस्तै डरलाग्दो बालबालिकाको नरसंहार चलिरहेको बताउँदै उनले घरबारविहीन भएका लाखौँ बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा कष्टकर अवस्थामा बताए।  

लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर–१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।