निर्माण पूरा नहुँदै जीर्ण बन्यो खस संग्रहालय

संग्रहालय सञ्चालनमा आएमा सभ्यता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ।

जुम्ला– सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएको छैन। निर्माण शुरू भएको  ६ वर्ष बितिसक्दासमेत काम अधुरै छ। चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको संग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन्।

 संग्रहालय निर्माण उपभोक्ता समितिका सचिव महेन्द्रराज तिवारीले सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निर्माण शुरू भएको पनि पूर्णता पाउन नसकेको बताए। “संग्रहालयका लागि बनिरहेका संरचनाप्रति म सन्तुष्ट छैन। कंक्रिटका संरचना नबनाऊँ भनेँ सुनुवाइ भएन। कहिले कामले पूर्णता पाएर सञ्चालनमा आउने हो टुंगो छैन,” सचिव तिवारीले भने।

यहाँका विभिन्न स्थानमा १३औँ शताब्दीमा निर्माण भएका चारवटा ऐतिहासिक देवल रहेका छन्। तीमध्ये तीन वटा संग्रहालयस्थल बाहिर छन्। ती तीनवटै देवललाई काँडेतारले सुरक्षा गरिएका छन्। सोही गाउँमा तीबाहेक विभिन्न स्थानमा आठवटा सम्पदा रहेको सिञ्जा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए।  उनका अनुसार हाल संग्रहालयका लागि निर्माण गरिएका भवन सिमेन्ट, सरिया र जस्ता पाताको प्रयोग गरेर बनाइएका छन्। त्यहाँ साना ठूला गरी तीन वटा कंक्रिट भवन छन्। सोही स्थानमा रहेको परम्परागत माटोको घर भने जीर्ण बनेर भत्किँदै गएको छ। 

स्थानीय उमेश बुढाले सिञ्जाको ऐतिहासिक पक्ष र यहाँको मौलिकता संरक्षणका लागि बनाइएको संग्रहालयको बाँकी काम सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए। 

नेपाली खस भाषाको उद्गमस्थल रहेको सिञ्जामा कर्णाली सरकार र भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा २०७६ सालमा  ५० लाख रुपैयाँ लागतमा संग्रहालय निर्माण थालिएको थियो। हालसम्म संघ, प्रदेश र स्थानीय सरकारको १ करोड ३४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यहाँ सिञ्जा गाउँपालिकाले समेत लगानी गरिरहेको छ। 

गाउँपालिकाको २५ लाखले पुस्तकालय भवन र ८ लाखले परम्परागत भवन निर्माण शुरू भएको थियो। उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। ५१ लाखको लागतमा संग्रहालय भवन निर्माण गरिएको छ। 

१४५५ सालमा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेको इतिहास छ। राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘सि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको इतिहासकारले भन्ने गरेका छन्। यहाँ शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत ढुंगाले कुँदिएका विभिन्न आकृति छन्। तिनको संरक्षण हुन सकेको छैन। हाल तिनका भग्नावशेष मात्रै भेटिन्छन्। 

संग्रहालय क्षेत्रमा १२ देखि १५औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख अहिलेसम्म सुरक्षित रहेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। आगामी वैशाखसम्म बाँकी काम सम्पन्न गरी संग्रहालय सञ्चालनमा ल्याउने योजना रहेको  उनले बताए। “संग्रहालय सञ्चालनमा आएन भनेरै सबैले गुनासो गरिरहेका छन्। वास्तवमै यो यस क्षेत्रको ऐतिहासिक महत्वसँग जोडिएको बहुप्रतिक्षित योजना हो। यस विषयमा हामी सबै चिन्तित छौँ,” अध्यक्ष धितालले भने, “यो सञ्चालनमा आएमा सभ्यता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ।”

संग्रहालय नाग्म–गमगढी सडक खण्डअन्तर्गत सिञ्जा हुँदै मुगु राराताल जाने बाटो नजिककै रहेको छ। यसको निर्माण सम्पन्न भएमा राराताल जानेलाई पनि आकर्षित गरी पर्यटन प्रवर्द्धन लाई आकर्षण गर्न गाउँपालिका अध्यक्ष धितालको भनाइ छ।