विज्ञ भन्छन्– रुसको नयाँ आणविक नीतिले अनिश्चितता थप्यो

युक्रेनले पहिलोपटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ।

रुसको नयाँ आणविक सिद्धान्तले युक्रेनसँगको युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेलेको विज्ञले बताएका छन्।

युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको एक हजार दिन पुगेको अवसरमा आणविक हतियारको चेतावनी जारी गरेका थिए।

विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमा देशले द्वन्द्वलाई ‘बढाउन’ चाहेको देखाएको बताएका छन्। राष्ट्रपति पुटिनले आणविक हतियार प्रयोगको सीमा घटाउने आदेशमा मंगलबार हस्ताक्षर गरेका थिए। ह्वाइट हाउस, बेलायत र युरोपेली युनियनले यसलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेका थिए।

वासिंटनले यसै साता युक्रेनलाई रुस भित्र रहेका सैन्य लक्ष्यविरुद्ध एटीएसीएमएस प्रयोग गर्न अनुमति दिएको बताएको थियो। सन् २०२२ मा युक्रेनमा आक्रमण गरेलगत्तै आणविक चेतावनी दिन थालेका पुटिनले बारम्बार दिइएको चेतावनीमा विश्वसनीयता थप्न चाहेको हुन सक्ने कतिपय विश्लेषकको बुझाई छ । 

क्यानडाको क्विन्स युनिभर्सिटीका रुसी आणविक नीतिका विशेषज्ञ म्याक्सिम स्टार्चकले क्रेमलिनको सिद्धान्तले आणविक हतियारको प्रयोगका लागि ‘थ्रेसहोल्ड कम’ गर्ने बताए। तर यसले ‘अस्पष्टता पनि प्रस्तुत गर्ने उनको बुझाई छ। 

“रुसतर्फ उत्तर कोरियाली सेनाको हालैको आगमन र युक्रेनी पक्षबाट अमेरिकाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रक्षेपण निश्चित रूपमा द्वन्द्वको वृद्धि हो,” उनले भने।