नेप्से परिसूचक ३१ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को बिन्दुमा सीमित भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

नेप्सेका अनुसार बिहीबार परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २६८०.४४ को बिन्दुमा सीमित भएको हो।

बिहीबार विभिन्न ३१४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर ८४ हजार ८५८ पटक खरिदबिक्री भयो। जसबाट आठ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

अघिल्लो कारोबार दिन ३२३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर ७४ हजार ३०३ पटक खरिदबिक्री हुँदा सात अर्ब नौ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ ०.९९, विकास बैंक १.४७, वित्त २.८६, होटल तथा पर्यटन १.७३ र जलविद्युत्को उपसूचक ०.९० प्रतिशतले घटेको छ।

त्यस्तै, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन १.५४, लघुवित्त ०.६८, म्युचुअल फन्ड ०.१९, निर्जीवन बीमा १.१६ र अन्य समूह १.६७ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा सामुदायिक लघुवित्त, थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

त्यस्तै, माहुली लघुवित्त ६.११, धौलागिरि लघुवित्त ५.४९ र रिभर फल्स पावरका लगानीकर्ताले ५.३३ प्रतिशतले कमाएका छन्। नारायणी विकास बैंक ७.२६, सुपर माई हाइड्रो पावर ७.१४, सपोर्ट माइक्रो फाइनान्स ७.०५ र गुराँस लघुवित्तका लगानीकर्ताले ६.५५ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर २५ करोड २४ लाख १० हजार ४०० रुपैयाँ बराबरको कारोबार भएको छ।