राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्। 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्। 

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच उनलाई  दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन्।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट महानुभावको उपस्थिति थियो। नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ। 

यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविंदले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन्।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्द कायम राख्न महत्त्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ।