दोस्रो किस्ता भुक्तानी नहुँदा पहिरोपीडितको आवास निर्माण अलपत्र

संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई आवास निर्माणको पाँच लाख ५० रुपैयाँ तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो। उनीहरूले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्।

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारको घर निर्माण अलपत्र परेको छ। संघीय सरकारबाट दोस्रो किस्ता रकम भुक्तानी नुहँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र परेको हो। 

गत २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका ९७ घर परिवार विस्थापित भएका थिए। पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा घर निर्माण थालिएको थियो। रकम भुक्तानी नहुँदा करिब एक वर्षअघिदेखि घर निर्माण रोकिएको छ। 

संघीय सरकारबाट दोस्रो किस्ता रकम नआउँदा भुक्तानी गर्न नसकिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए। पहिरो पीडितको घर निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान निर्णय भए हालसम्म दोस्रो किस्ताबापतको रकम जिल्ला प्रशासनको खातामा नआएको सहायक प्रजिअ घिमिरेले बताए। 

पहिरो पीडितका लागि संघीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो। पहिरोपीडितले घर निर्माणको पहिलो किस्ताको ५० हजार मात्र पाएका छन्। पहिरो पीडित ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ। अन्य घरको २५ प्रतिशत मात्र काम सकिएको छ। 

पहिरो पीडितको समयमा घर निर्माण हुन नसक्दा अझै टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। समयमा घर निर्माण हुन नसक्दा सिलिचोङ–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारको चार वर्षसम्म पुनःस्थापना हुन सकेको छैन। पहिरोबाट विस्थापित भएको झण्डै साढे दुई वर्षपछि बेसिन्दा गाउँका पहिरो पीडितको घर निर्माण थालिएको हो। घर निर्माण अलपत्र भएपछि अस्थायी टहरामा बस्दै परिवार पहिरो पीडित पीडामा परेका हछन्। 

पहिरोपीडितको आवास निर्माणलका लागि पाँच लाख ५० रुपैयाँ तोकिएको थियो। आवास निर्माणको पाँच लाख ५० रुपैयाँ प्राविधिकको मूल्यांकनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो।

पहिरोपीडितले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्। भैरेडाडाँमा ५५ परिवारको लागि ६९ रोपनी जग्गा एक करोड ३० लाख रुपैयाँमा खरिद गरिएको थियो। सिलिचोङ–१ बेसिन्दाका नौ घर वटा विसं २०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए।