गौरिया धानको माग बढ्दो, खेती भने घट्दै

नयाँ जातका धानको खेतीमा किसानको आकर्षणसँगै म्याग्दीमा गौरिया, गुडुरा, आँगा, घैयालगायत स्थानीय रैथाने जातका धानको खेती घटेको छ।

म्याग्दी– मंगला गाउँपालिका–५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपालि खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो। 

हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई/तीन जनाले फोन गर्छन्। “२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहकलाई चामल पुर्‍याउन ठिक्क हुन्छ,” उनले भने, “उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेती नै घट्दै गएको छ।”

पकाउँदा घर बाहिरसम्म मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढे पनि खेती घट्दै गएको छ। शहर बजारका तारे होटलदेखि घरानीया व्यापारी, उच्च तहका नेता, कर्मचारी गौरिया धानको चामलका उपभोक्ता भएका मंगला –५ छिसवाङका दुर्गाबहादुर खत्रीले बताए।

“गौरिया धान पाक्दा खेत नै बसाउँछ। भान्छा कोठामा गौरीयाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ,” ६८ वर्षीय खत्रीले भने, “गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन।” गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो। स्थानीयका अनुसार चार पुस्ता अघिदेखि खेती हुँदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन। 

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेलले बताए। “यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र ६ लाख रुपैयाँसम्मको चामल बिक्री गर्ने कृषक छन्,” उनले भने, “यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन्।”

आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताए। “पहिले सबैले गौरिया गर्थे,” उनले भने, “नयाँ जातको धानखेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो।” 

गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुन्छ। न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ। असारको १५ गते रोपिने गौरिया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ।

गौरिया धानको दाना अरू जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुन्छ। पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी, किरिया बसेकालाई गौरिया धानको चामलको भात उपयोगी हुने बताइन्छ। बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसान बताउँछन्। 

नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरिया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताए। 

“जेठोबुढोसँग मिल्दोजुल्दो गुण भए पनि गौरिया फरक जातको धान हो,” उनले भने, “कृषकले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रूपमा ब्रान्डिङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ।” 

गौरिया धानखेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्यांक र अभिलेख छैन। म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ विधिबाट अध्ययन र तथ्यांक संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताए। 

रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाको भनाइ छ।  

“अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यावसायिक सम्भावना बोकेको गौरिया धानको खेती र महत्त्व स्थानीय स्तरमै सीमित भएको छ,” उनले भने, “गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रवर्द्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ।”