‘उत्तर कोरियालाई सेनाको बदलामा रुसको तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग’

रुसले उत्तर कोरियालाई युक्रेनविरुद्धको युद्धमा सेना पठाएको बदलामा तेल, एन्टी–एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको दक्षिण कोरियाली सरकारी अधिकारीले दाबी गरेका छन्।

फाइल तस्वीर

रुसले उत्तर कोरियालाई युक्रेनविरुद्ध युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी–एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको दक्षिण कोरियाली सरकारी अधिकारीले शुक्रबार जनाएका छन्।

अमेरिका र दक्षिण कोरियाले उत्तर कारियाले रुसलाई युक्रेनसँग लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेका छन्। विज्ञहरूले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन्नत प्रविधिको बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन्।

दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन–सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी–एयरक्राफ्ट मिसाइल उत्तर कोरियामा पठाइएको पुष्टि गरेका छन्।

पछिल्लो आठ महिनामा एक दर्जनभन्दा बढी उत्तर कोरियाली तेल ट्यांकरले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्वीर साभार गर्दै बीबीसीले जनाएको छ।

बेलायती विदेशसचिव डेभिड लम्मीलाई उद्धृत गर्दै रिपोर्टमा उत्तर कोरियाले तेल, हतियार र मिसाइलमार्फत मस्को पठाइएका सेनाको भुक्तानी लिएको उल्लेख छ।

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।

यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो।

उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमणमा आफ्नो देश ‘विजय दिवससम्म रुसी कमरेडसँग दृढतापूर्वक उभिने’ बताएकी थिइन्।