निर्वाचन प्रचारमा १० भन्दा बढी झन्डा र चुनावचिह्न प्रयोग नगर्न निर्देशन

प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सचेत गराएको छ।

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झन्डा र चुनावचिह्न प्रयोग नगर्न निर्देशन दिएको छ।

उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झन्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो। प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ।

आचारसंहिता उल्लंघन भए/गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

मंसिर १६ गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न यही मङ्सिर २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको छ। उक्त आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि आयोगले विभिन्न संयन्त्र परिचालित गरेको छ।

मतपत्रका नमूना सार्वजनिक
आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्रका नमूना सार्वजनिक गरेको छ। उम्मेदवारको संख्याका आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचनचिह्न मात्र समावेश गरी मतपत्र तयार गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिइन्।

स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन्। उक्त नमूना मतपत्रका आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ।