चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्युँझिएपछि...

चिकित्सकले मृत घोषणा गरेका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहितास कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोस्टमार्टम गरेन। 

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन्। यो घटनामा संलग्न रहेका तीन चिकित्सक निलम्बित भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित जिल्ला अस्पतालमा लगेका थिए। तर उनको उपचार नगरीकनै मृत घोषणा गरियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो। परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारेरोग (मिर्गी)को समस्या देखिएको रहेछ। अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एक जना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ।"

सिंहका अनुसार चिता जलाउनुभन्दा केही समयअघि रोहितासको शरीरले हलचल शुरू भयो। मलामीका रूपमा गएका मानिसले जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो। 

रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो। अधिकारीहरूले यो घटनापछि अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन्। 

झुन्झुनुका एसपी शरद चौधरीले युवकको पोस्टमार्टम गर्नुपर्नेमा चिकित्सकहरूले कागजी औपचारिकता मात्र पूरा गरे दाहसंस्कार गर्न पठाएको बताए। “बिहीबार युवकको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। उनका नजिकका आफन्त कोही थिएनन्। चिकित्सकले युवकको पोस्टमार्टम गर्नुपर्ने थियो तर केही गरेनन्,” झुन्झुनुका एसपी चौधरीले भने।

जिल्ला अधिकारी रामावतार मीनाका अनुसार अस्पतालका यो घटनामा संलग्न चिकित्सक योगेश झाखार, नवनीत मील र सन्दीप प्रचारलाई निलम्बन गरिएको छ। “हामीले मेडिकल विभागलाई शीघ्र रिपोर्ट पेश गर्न भनेका छौँ,” मीनाले भनिन्।