भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको किसानको भनाइ छ।

इनरुवा– देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कट्ठामा बन्दागोभी लगाएका छन्। 

मजदुर अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद खेती गरिरहेका उनलाई तरकारीले उचित मूल्य नपाउँदा समस्या भएको छ। भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण उनको उत्पादनले बजार नपाएको छ। उनीजस्ता धेरै स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन्। 

नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्ने स्थानीय किसान गुलाबचन मेहताले बताए। “नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन,” उनले भने।  

इनरुवा–४ का रामदेव मेहताले दैनिक रूपमा भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताए। भारतबाट आउने बन्दागोभी प्रतिकिलो २० देखि ३० रुपैयाँमा बिक्री हुने गरेको छ। नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी असुल नहुने स्थानीय चन्दन मेहताले बताए। देवानगञ्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ।

भारतबाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भन्टा र सागपात बजारमा भित्रिने गरेको छ। भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेहेताले सरकारसँग माग गरे।