म्यानचेस्टर सिटीको लगातार पाँचौँ हार

टोटनहामसँग म्यानचेस्टर सिटी शनिबार घरेलु मैदानमा ४–० ले पराजित भएको छ। सिटीले दुई वर्षपछि घरेलु मैदानमा पहिलो हार बेहोरेको हो।

तस्वीर: एपी

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा शनिबार टोटनहामसँग म्यानचेस्टर सिटी ४–० ले पराजित भएको छ।

इतिहाड स्टेडियममा टोटनहामलाई जित दिलाउन जेम्स म्याडिसनले २ तथा पेड्रो पेरो र ब्रेनन जोन्सनले १–१ गोल गरे। 

सिटीले घरेलु मैदानमा दुई वर्षपछि पहिलो हार बेहोरेको हो। यस्तै, सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो। 

पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले प्रिमियर लिगमा लगातार तीन खेल हारेको यो पहिलो पटक हो। उनले घरेलु मैदानमा बेहोरेको पनि यो सबैभन्दा ठूलो हार हो। ग्वार्डिओलाले आफ्नो व्यवस्थापकीय करियरमा यसअघि घरेलु लिग खेल चार गोलले हारेका थिएनन्।

शनिबारका अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१, आर्सनलले नटिङघम फरेस्टलाई ३–०, उल्भ्सले फुलहमलाई ४–१ र ब्राइटनले बर्नमाउथलाई २–१ ले पराजित गरे। यस्तै, एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभर्टन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका थिए।

हारका बाबजुद सिटी १२ खेलमा २३ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलको २८ अंक छ। लिभरपुलले १ खेल कम खेलेको छ। चेल्सी, आर्सनल र ब्राइटनको १२ खेलबाट २२ अंक छ।