चिकित्सकले राजीनामा दिएपछि प्रादेशिक अस्पताल जलेश्वरको सेवा प्रभावित

अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको जनाउँदै राजीनामा दिएपछि सेवा प्रभावित भएको छ।

जलेश्वर– चिकित्सक अभावमा प्रादेशिक अस्पताल जलेश्वरको सेवा प्रभावित भएको छ।

चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो। अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको जनाउँदै राजीनामा दिएका थिए।  

उक्त अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेका छन्। अस्पतालमा डाक्टर नहुँदा उपचार पाउन समस्या भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या समाधानतर्फ आफू लागेको बताए।

अस्पताल व्यवस्थापन समिति, मधेश सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ।