कोप–२९ सम्मेलन: धनी देशले वार्षिक ३०० अर्ब डलर तिर्ने सहमति

विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशलाई आफ्नो अर्थतन्त्र हरित बनाउन र अझ खराब विपत्तिको सामनाका लागि प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति भएको छ।

तस्वीर: एपी

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) सकिएको छ। शुक्रबार नै सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर आइतबार सकिएको हो। 

कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैंगिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशले तयारी गर्ने युएनएसीसीसीको सचिवालयले जनाएको छ। 

नेपालका तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसीक्यूजी) का बारेमा विकसित देशले विकासोन्मुख देशलाई वार्षिक ३०० बिलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए।

“विकासोन्मुख राष्ट्रको माग वार्षिक १.३ ट्रिलियन डलर भएको छ। साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ,” उनले भने, “हानि नोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ।”

कार्बन उत्सर्जन घटाउनुपर्ने अजेन्डामा भने धनी मुलुकहरू सकारात्मक नदेखिएको उनको भनाइ छ। “यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १.५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन। यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आश्रित देशको भूमिका असहयोगी रह्यो।”

ढकालका अनुसार हाम्रो जस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ। यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देश जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुनेगरी टुंगिएको छ। “कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ। बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ,” ढकालले भने, “समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ।”

एनसीक्यूजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यकपर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज हुने वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाको भनाइ छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १.५ डिग्रीमा सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वाकांक्षी परिणामको अपेक्षा गरिएको बताए। कोपको समापन गर्दै उनले तापमान वृद्धिले जलवायुको संकट निम्त्याइरहेको उल्लेख गरे।

“यस पटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो। ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो,” उनले भने, “महत्वाकांक्षाअनुसार कोपको परिणाम देखिएन तर कोपमा भएको यो सहमति एउटा आधार हो। यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ।”

संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै संकटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताए। “कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु संकटको सामना गर्न सहयोग गर्छ। तर कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वयन गरिन्छ,” उनले भने, “वाचा पूरा गरिनुपर्छ, जसले अर्बौं मानिसको जीवन रक्षा गर्न सकुन्।”