रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ– अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर उनीमाथि लागेका आरोपको अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीले लामिछानेलाई पाँचौँ पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो। जिल्ला न्यायाधीश हिमलाल वेल्बासेको इजलासले लामिछानेलाई हिरासतमा राख्ने म्याद थपको अनुमति दिएको हो।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेमाथि लागेको आरोपको अनुसन्धानका लागि मंसिर ८ गतेदेखि लागू हुने गरी १५ दिन राख्न म्याद थप भएको हो। यसअघि कात्तिक २५ गते अदालतले उनलाई थुनामा राख्ने म्याद १३ थप गरेको थियो। सो म्याद सकिएपछि प्रहरीले पुनः अदालतमा उपस्थित गराएको थियो।

सहकारीको रकम अपचलनमा लामिछानेलाई पक्राउ गर्न चितवन  जिल्ला अदालतले पनि अनुमति दिएको छ। उनीविरुद्ध काठमाडौँमा समेत पक्राउ पुर्जी जारी भएको छ। सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा प्रहरीले उनलाई रूपन्देहीसमेत पुर्‍याएर बयान लिएको थियो।

ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ गरेको थियो। प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारीको रकम अपचलनमा एकसाथ अनुसन्धान गरिरहेको छ।

सहकारी संस्थाको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सहकारी कानूनविपरीत सहकारीबाट गोरखा मिडियामा आएको रकम खर्च गर्ने/गराउने प्रक्रियामा उनीलगायतका व्यक्ति संलग्न रहेको निष्कर्ष निकालिएको छ।

समितिले गोरखा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई र तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको थियो। प्रहरीले यसअघि नै जोशी र रम्तेललाई पक्राउ गरिसकेको छ भने राई फरार रहेका छन्।

यो पनि – एक्सप्लेनरः रवि लामिछानेलाई कहिलेसम्म हिरासतमा राखिन्छ, मुद्दा कसरी अघि बढ्छ?