पाकिस्तानको कुर्रममा साम्प्रदायिक झडप हुँदा ३ दिनमा ८२ जनाले गुमाए ज्यान

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्।

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा कम्तीमा ८२ जनाको मृत्यु भएको छ। साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन्।

पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमानजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सिया समुदायको बाहुल्यता छ। यो समुदाय दशकौँदेखि सुन्नी बहुसंख्यक पाकिस्तानीको निशाना पर्ने गरेको छ। 

सिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो। “नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका एक अधिकारीले एएफपीसँग भने।

उनका अनुसार मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना सिया समुदायका व्यक्ति रहेका छन्।

शनिबार रातिसम्म पनि हल्का र भारी हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए। स्थानीय प्रशासनका एक अधिकारीले भने, “कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ।”

सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न संघर्ष गर्दै आएको छ।

प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले शनिबार सिया समुदायसँग वार्ता गरेको थियो र आइतबारपछि सुन्नी समुदायलाई भेट्ने कार्यक्रम रहेको छ।

प्रान्तीय राजधानी पेसावरका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार वार्ताकारको हेलिकप्टर त्यस क्षेत्रमा आइपुग्दा आक्रमण भएको थियो।

प्रान्तीय कानूनमन्त्री आफताब आलम अफ्रिदीले आइतबार भने, “आज हाम्रो प्राथमिकता दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्नु हो। एक पटक यो हासिल भएपछि, हामी अन्तर्निहित मुद्दाहरू सम्बोधन गर्न शुरू गर्न सक्छौँ।”

गत महिना कुर्रममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो। यसअघि जुलाई र सेप्टेम्बरमा भएको झडपमा दर्जनौँ मानिसको मृत्यु भएको थियो

पाकिस्तानको मानव अधिकार आयोगका अनुसार जुलाईदेखि अक्टोबरसम्म साम्प्रदायिक झडपमा परी ७९ जनाको मृत्यु भएको छ।

यसैबीच, पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर र देशको व्यापारिक केन्द्र कराँचीमा शुक्रबार सयौँ मानिसले हिंसाको विरोधमा प्रदर्शन गरेका छन्।