नेप्से परिसूचक दोहोरो अंकले बढ्दा घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुमा उक्लिएको छ भने ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

नेप्सेका अनुसार सोमबार परिसूचक अघिल्लो दिनको तुलनामा १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुमा उक्लिएको हो। सोमबार विभिन्न ३०९ कम्पनीको एक करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर ६५ हजार ८२४ पटक खरिदबिक्री भयो। जसबाट ६ अर्ब ३४ करोड ५८ लाख नौ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्बभन्दा बढीको गिरावट देखिएको छ। आइतबार विभिन्न ३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८पटक खरिदबिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको थियो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अंकले बढेर ४७३.०६ को विन्दुमा कायम भएको छ। सोमबार म्युचुअल फन्ड ०.३२ र उत्पादन तथा प्रशोधनको उपसूचक ०.२३ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचकमा वृद्धि देखिएको छ।

बैंकिङ ०.११, विकास बैंक १.२१, वित्त २.२७, होटल तथा पर्यटन १.२४, जलविद्युत् ०.४४, लगानी समूहको उपसूचक १.०५ प्रतिशतले बढेको छ। त्यस्तै, जीवन बीमा ०.२३, लघुवित्त ०.१९, निर्जीवन बीमा १.२७, अन्य समूह १.६८, व्यापार समूहको उपसूचक ०.०९ प्रतिशतले बढेको छ।

यस दिनको कारोबारमा बेस्ट फाइनान्स ९.९१, सुपर मादी हाइड्रोपावर ९.९१, कर्पोरेट विकास बैंक ९.८५, स्वाभिमान लघुवित्त ९.७८ र सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.६९ प्रतिशतले कमाएका छन्।

ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले घटेर कारोबारमा नकारात्मक सर्किट लागेको छ। नेपाल एसबीआई बैंक डिभेन्चर ५.३१, सिटिजन सुपर ३० म्युचुअल फन्ड ५.०६, जानकी फाइनान्स ३.४६ र मध्यभोटेकोशीका लगानीकर्ताले २.९० प्रतिशतले नोक्सान बेहोरेका छन्।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर ५४ करोड सात लाख ५० हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा पनि सबैभन्दा धेरै ङादी ग्रुप वावरको १० लाख ७७ हजार ६८५ कित्ता किनबेच भएको छ।