चीनको भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्रीको भनाइ

चीन भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार, नेपाली उत्पादन निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने तयारी रहेको प्रधानमन्त्रीको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताएका छन्। आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन्।

आवश्यक पर्दाको खण्डमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सकिने उल्लेख गर्दै उनले ‘ऋणको पासोमा पार्न ऋण लिइँदै छ’ भनेर गरिने अनावश्यक हल्लाका पछि नलाग्न आग्रह गरे। “चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ। दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन भ्रमण गर्न लागिएको हो”, प्रधानमन्त्री ओलीले भने, “पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्छौँ। त्यसकारण यो भ्रमण सफल हुन्छ।” 

सत्तारुढ दल कांग्रेस र एमालेका बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ नहुने उनको भनाइ थियो। विश्वशान्ति र नेपालको हितबाहेक अरू कुनै काम नगर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरूलाई आश्वस्त पार्ने प्रयास गरे।

उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए।

उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’का रूपमा कसैले लिन नहुने आग्रह गरे।‍

छलफलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले ‘चीन कार्ड खेल्न’ खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे। उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट अजेन्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै अजेन्डालाई अन्तिम रूप दिने बताइन्। उनले यस विषयमा दुई दलमा बाहिर आएजस्तो कुनै विवाद नरहेको बताइन्।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यकाबाहिर रहेका कारण छलफलमा अनुपस्थित थिए।पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्री ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याललगायत छलफलमा सहभागी थिए।