धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल २०८० पुसमा सकिएपछि उक्त पद रिक्त थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित बोर्डको अध्यक्ष सिफारिस समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको थियो।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण पनि स्वीकृत गरेको छ। मन्त्री गुरुङका अनुसार परराष्ट्रमन्त्री राणा नेतृत्वको टोली प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गते चीन जाँदै छिन्।