चिसो बढेसँगै बढे सगरमाथा क्षेत्र छाड्ने विदेशी पर्यटक

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

सोलुखुम्बु– विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छाड्ने विदेशी पर्यटकको संख्या बढेको छ। चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या बढेको हो। 

पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिँदा दुई हजार ४०० पर्यटकले सगरमाथा क्षेत्र छोडेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। 

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए। कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्किने गरेका छन्। उनले भने, “पानी जम्न थालेपछि पर्यटक माथि जान मान्दैनन्। अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू पनि दिन छोट्याएर फर्किने गरेका छन्।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको शुरूआतामा सामान्य हिमपात भएकाले चिसो बढेको उनको अनुमान छ।

प्राधिकरणका एटीसी अफिसर सञ्जय श्रेष्ठका अनुसार सिजन ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाज खाली आउन थालेका छन्। फर्किँदा जहाजमा यात्रुको घुइँचो हुन्छ। कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ। “यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ,” उनले भने, “काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजले पर्यटक लिएर फर्किने गरेका छन्।” 

लुक्लाबाट फर्किने जहाजको टिकट लिन चार/पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताए। विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उनको भनाइ छ। लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई २९ हजार ४८० र नेपालीलाई ११ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ। भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ। जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटक हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै जिपमार्फत काठमाडौँ फर्किने गरेका छन्। 

लुक्ला विमानस्थलमा अहिले झण्डै १०० हाराहारी जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन्। फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ। कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्यांक लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए। 

सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ। फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मंसिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।