होटल तथा रेस्टुराँ व्यवसायीले करिडोर आसपासमा व्यवसाय शुरू गरेका छन् । कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन्।
बलेवा– काठमाडौँमा रहेको होटल छाडेर बाबुराम न्यौपाने कालीगण्डकी–२ अर्बेनी आएका छन्। काठमाडौँको बसपार्कमा रहेको होटल छोराको जिम्मा लगाएर आएका उनीहरूले कालीगण्डकी करिडोरमा अर्को होटल खोलेका छन्। न्यौपाने दम्पतीलाई अहिले पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याई छ।
राष्ट्रिय गौरवको यो सडकले धेरै ग्रामीण क्षेत्रलाई जोड्दै उत्तर–दक्षिण छोएको छ। कालीगण्डकी नदीको किनारैकिनार बनेको राजमार्गले बागलुङ र पर्वतका दुर्गम गाउँलाई सहरसँग जोडेको छ। यसले गर्दा ग्रामीण क्षेत्रमा बिस्तारै व्यावसायिक वातावरण बन्दै छ।
गुल्मीमा न्यौपाने मात्र होइन सदरमुकामबाट टाढा रहेका दुर्गम बस्तीलाई राष्ट्रिय राजमार्गले जोडेपछि गाउँको परिचय बदलिएको छ। कयौँ होटल तथा रेस्टुराँ व्यवसायीले करिडोर आसपासमा व्यवसाय शुरू गरेका छन् । कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन्।
आर्थिक वर्ष २०६७/६८ मा निर्माण शुरू भएको आयोजनाको कालोपत्र तीव्र गतिमा भइरहेको छ। नेपाल–भारत बेलहिया (सुनौली) नाकाबाट मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले शुरू गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४३५ किलोमिटर लामो छ।
कालीगण्डकी करिडोर (गैँडाकोट, राम्दी मालढुंगा) सडक आयोजनाले झण्डै २०० किलोमिटर कालोपत्रको चरणमा छ। “पर्यटक मात्र यो बाटो भएर हिँड्दा पनि व्यावसायिक वातावरण बन्छ,” होटल व्यवसायी न्यौपानेले भने, “ठूला शहरभन्दा नयाँ राजमार्गको आसपासका व्यवसाय फस्टाउँदो देखेर नै लगानी गरेका छौँ।”
करिडोरको पूर्व नवलपरासीको गैँडाकोटबाट बागलुङको मालढुंगा तल्लो खण्ड २४० किलोमिटर छ। यस्तै मालढुंगाबाट मुस्ताङको चीन जोड्ने कोरलानाकाको दूरी १९५ किलोमिटर छ। दुवै खण्डमा धमाधम स्तरोन्नति र कालोपत्रको काम चलिरहेकाले व्यावसायिक वातावरण बढ्दै गएको बागलुङ सरंगेका व्यवसायी विजय केसीले बताए।
बुटवलबाट अब बागलुङ सदरमुकाम १५० किलोमिटर दूरीमा खुम्चिएको छ। नारायणगढ, मुग्लिन, पोखरा हुँदै बागलुङ जान दैनिक आठदेखि १० घण्टाको यात्रा अब चार घण्टामा छोटिँदै छ। मालढुंगा, बेनी, जोमसोम हुँदै कोरला १९५ किलोमिटरको सडक ट्र्याक विस्तारको काम भइरहेको छ। माथिल्लो खण्ड बेनी तातोपानी, तातोपानी घाँसा, घाँसा कागबेनी, कागबेनी हुँदै जोमसोम खण्ड खण्डमा ठेक्का लगाएर काम भइरहेको छ।
यो १९५ मिटर खण्डको लागत ६ अर्ब रुपैयाँभन्दा बढी छ। करिडोर ११ मिटर चौडाइको हुन्छ। त्यसमध्ये सात मिटर कालोपत्र र दायाँ–बायाँ एक–एक मिटर किनारा तथा एक मिटरको नाली निर्माण गरिएको छ। करिडोरका लागि सरकारले बजेटको सुनिश्चितता गर्न नसक्नु, प्रत्येक वर्ष बजेट कटौतीले लक्ष्य अनुरूप काम हुन नसकेको हर्मिचौर–बलेवा ४४ किलोमिटर खण्डमा कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि छकबहादुर गुरुङले बताए।
करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पुर्याएको छ। “एक दशक अघिसम्म सडक सञ्जालले जोड्न नसक्दा गाउँबाट ठूलो संख्यामा सहरमा बसाइँसराइ गर्ने क्रम थियो,” बागलुङको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, “जब करिडोरको ट्र्याक खुल्यो, तब बसाइँ सरेर केही मात्रामा भए पनि रोकिएको छ।”
करिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन आएको छ। व्यापार व्यवसायदेखि कृषि उत्पादनमा समेत वृद्धि भएको छ। किसानको उत्पादन गाउँदेखि सहरसम्म पुर्याउन सकिएको स्थानीय शिक्षक राजेन्द्र शर्माले बताए। चिनियाँ बौद्ध धर्मावलम्बी बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको इतिहास छ। भारतीय व्यवसायी कालीगण्डकीको किनारैकिनार चीनको कोरला पुग्ने गर्थे।
कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्याउने अवधारणाअनुसार १३ वर्षअघि नेपाली सेना र सडक विभागले करिडोरको ट्र्याक खोलेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
