यमनमा युद्ध शुरु भएयता १ लाख ५० हजार नागरिक मृत्यु भइसकेको र २ करोड ३४ लाख मानिसले मानवीय संकट बेहोरिरहेको राष्ट्रसंघको तथ्यांक छ।
यमनको युद्धमा मृत्यु र घाइते हुने बालबालिकाको संख्या ११ हजार नाघेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ। सन् २०१५ मा युद्ध शुरू भएयता हरेक दिन औसतमा ४ जनाको मृत्यु वा घाइते हुने गरेको पाइएको हो।
अक्टोबरदेखि नोभेम्बर महिनासम्मको अवधिमा मात्रै ६२ जना बालबालिका घाइते तथा मृत्यु भएको युनिसेफले जनाएको छ। जुलाई र सेप्टेम्बर महिनामा एम्बुसमा परी १६४ जनाको मृत्यु भएकोमा ७४ जना बालबालिका रहेको तथ्यांक छ।
यमनमा युद्धविराम तथा युद्ध अन्त्यका लागि तत्काल कदम चाल्न युनिसेफकी प्रमुख क्याथरिन रसेलले युद्धरत पक्षलाई आग्रह गरेकी छिन्। गत अप्रिलमा युद्ध अन्त्यको पहलका लागि महत्त्वपूर्ण वार्ता भए पनि पूर्ण रूपमा युद्ध अन्त्यको प्रयास भएको छैन।
युनिसेफको ह्युमानिटरियन एक्सन फर चिल्ड्रेन (एचएसी)ले यमनमा खानेपानी, पोषण, स्वास्थ्य, सरसफाइ, शिक्षा र अन्य सुरक्षा सेवाका लागि १० अर्ब ३० करोड डलरबराबरको सहयोगको अपिल गरेको छ। त्यहाँको जनसंख्याको तीन चौथाई अर्थात् २ करोड ३४ लाख मानिसमा मानवीय सहायता आवश्यक परेको बताइएको छ। जसमध्ये १ करोड ७३ लाख जोखिमपूर्ण बालबालिका छन्। युद्धग्रस्त यमन विश्वमै सबैभन्दा बढी मानवीय संकट झेलिरहेको मुलुक हो।
युनिसेफका अनुसार यमनका २२ लाख युवामा पोषणको अभाव र पाँच वर्षमुनिका ५ लाख ४० हजार बालबालिका गम्भीर कुपोषणबाट ग्रसित भएको राष्ट्रसंघले जनाएको छ। साथै, स्वच्छ पानीको अभावमा त्यहाँका अधिकांश बालबालिका हैजा, दादुरा र भ्यागुते रोग (डिप्थेरिया)को उच्च जोखिममा रहेको जनाइएको छ।
यस्तै, यमनका १ करोड ७८ लाख नागरिक सफा पानी र सरसफाइको सुविधाबाट बञ्चित भएको र मुलुकको स्वास्थ्य प्रणाली अत्यान्त कमजोर देखिएको बताइएको छ। त्यहाँका आधाजसो स्वास्थ्य संस्थाले मात्रै सेवा दिइरहेको युनिसेफको भनाइ छ। यति मात्र होइन, यमनमा गम्भीर शिक्षा संकट छ। त्यहाँका २० लाख बालबालिका विद्यालयबाहिर छन्। यमनमा प्रत्येक चारमध्ये एक विद्यालय पूर्ण र आशिंक रूपमा क्षति पुगेकाले आगामी दिनमा यो संख्या ६० लाख पुग्ने आकलनसमेत गरिएको छ।
युनिसेफले यमनको संकट समाधानका लागि सन् २०२३ मा ८ करोड ४५ लाख डलरबराबरको सहयोगको आवश्यक पर्ने अनुमान गरेको छ। आवश्यक सहयोगको अभावमा त्यहाँका बालबालिकाको जीवन जोखिममा पर्ने बताइएको छ। विभिन्न चुनौतीका बाबजुद यसवर्ष गम्भीर कूपोषणबाट ग्रसित २ लाख ६० हजारभन्दा बढी बालबालिकाको उपचारका लागि सहयोग गरेको युनिसेफले जनाएको छ।
युनिसेफले ४७ लाख मानिसहरूलाई सफा खानेपानी उपलब्ध गराएको जनाएको छ। यसअघि राष्ट्रसंघीय सुरक्षा परिषद्ले यमनको संकट समाधानका लागि मानवीय र आर्थिक सहायतालाई सम्बोधन गर्नुपर्ने बताएको थियो।
यमनमा युद्धको शुरूआत
यमनमा साढे ८ वर्षभन्दा बढी समयदेखि युद्ध जारी छ। सन् २०१४ बाट शुरू भएको गृहयुद्ध विभिन्न कारणले हिंसात्मक युद्ध लम्बिएको हो। यमनको रसद अल अलिमीको नेतृत्वको सरकार र सशस्त्र विद्रोही समूह हुथी र उनीहरूका समर्थक समूहबीच युद्ध चर्किएको हो। यमनको सुन्नि मुस्लिम समुदायको नेतृत्वलाई शिया समुदायहरूले समर्थन नगर्दा यमन पहिलेदेखि नै अशान्ति रहँदै आएको थियो।
सन् २०१४ मा हुथी लडाकु समूहले यमनको राजधानी तथा ठूलो शहर सानाको अधिकांश क्षेत्रमा पकड जमाउँदै सरकारलाई महँगी नियन्त्रण गर्न र नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेको थियो। तर, सरकारले माग सम्बोधन नगरी हुथीमाथि कारबाही गर्न खोज्दा मुलुक चरम गृहयुद्धमा होमिएको थियो।
तर, हुथी समर्थित सर्वोच्च क्रान्तिकारी कमिटीले तत्कालीन राष्ट्रपति अब्द्राब्बु मन्सुर हादीको सरकार ढलाउने प्रयासस्वरूप २१ मार्च २०१५ मा आन्दोलन शुरू गर्दै दक्षिणी प्रान्ततिर आफ्नो पकड बिस्तार गरेको थयो। जारी तनावका कारण राष्ट्रपति हादी मार्च २५ का दिन मुलुक छाडेर भागेका थिए।
पछि साउदी अरब समर्थित एक गठबन्धनले हवाई आक्रमण गर्दै हादी सरकार ब्युँताउने प्रयास गरेको थियो। यता, इरानको समर्थन प्राप्त हुथी थप सक्रिय बन्न थाल्यो। यमनमा इरान भने कहिल्यै प्रत्यक्ष रूपमा सहभागी भएन।
त्यसयता जारी दुईपक्षीय युद्ध रोकिएको छैन। बरू यमनमा थुप्रै स्वार्थ समूहले प्रत्यक्ष/अप्रत्यक्ष समर्थन तथा आक्रमण गर्दै विभिन्न समूह खडा गरेका छन्। यमनमा हाल साउदी अरब, इरान, अमेरिका, संयुक्त अरब इमिरेट्स, इस्लामिक स्टेट, अलकायदासहितका समूह आ-आफ्नो स्वार्थ पूरा गर्न सक्रिय छन्।
यमनमा युद्धमा परेर १ लाख ५० हजार नागरिक मृत्यु भएको राष्ट्रसंघले जनाएको छ। जारी युद्धका कारण निम्तिएको खाद्यान्न संकट तथा उपचार नपाएर २ लाख २७ हजार मानिसले ज्यान गुमाएको राष्ट्रसंघको तथ्यांक छ। यस्तै, लाखौँ विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
