मेचीनगरले हटाउन थाल्यो धुलाबारीमा अतिक्रमण गरी बनाइएका संरचना

मेचीनगर नगरपालिकाले वडा नम्बर ९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन थालेको छ।

झापा– मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घरटहरा नगरपालिकाले मंगलबारदेखि हटाउन थालेको छ। विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनुपर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए।

धुलाबारी बजार क्षेत्रको शहीदमार्गमा विश्व बैंकको सहयोगमा शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाअन्तर्गत २७ करोड २१ लाख तीन हजार ९३१ रुपैयाँ बजेटमा ५.३ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति शुरू गरिएको छ।

उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो। सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल वर्षौंअघि थिए। मंगलबार बिहानदेखि नगरपालिकाका नगर प्रहरी डोजरसहित ती संरचना भत्काउन खटिएका छन्। धुलाबारी मोडदेखि उत्तरतर्फ १०० मिटरको दूरीमा रहेका अतिक्रमित सबै संरचना भत्काइएका छन्।

भत्किएको स्थानबाट घरधनी तथा पसलेहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन्। मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले सडक मिचेर बनाइएका सबै संरचना हटाइने जनाउँदै पाँच दिनभित्रमा सडकको ४२ मिटर क्षेत्र खाली गरिने बताए। बजार क्षेत्रमा अतिक्रमण गरेर ५२ वटा सटर बनेको वडाध्यक्ष खनालले बताए। उनले भने, “सडकको मापदण्डभित्र ४२ मिटर क्षेत्र पर्छ। त्यसभित्रका संरचनामा डोजर चल्छ।”

धुलाबारी मुलुककै पुरानोमध्येको एक बजार हो। कुनै बेला हङकङ मार्केटको रूपमा यसको ख्याति दार्जिलिङ, कोलाकाता, आसाम र भुटानसम्म फैलिएको थियो। उताका व्यवसायी तथा धनाढ्यहरू महँगा चिनियाँ सामान किन्न धुलाबारी आउने गर्थे । भारत र चीनबीच नाका खुला गर्ने नयाँ व्यापार सम्झौता भएपछि धुलाबारी बजार सुस्ताउँदै गएको थियो। 

गुल्जार भएका बेला धुलाबारी बजार क्षेत्रमा व्यापारिक उद्देश्यले जथाभाबी घर तथा पसल निर्माणको लहर चल्यो। त्यही बेला पक्की संरचना सडक सीमा क्षेत्रभित्रै बनेका थिए। विसं २०८२ असार ३१ गतेभित्र निर्माण पूरा गर्ने गरी भारत विहारको निर्माण कम्पनी एनएनटी डेभलोपर्स प्रालिले सडकको ठेक्का पाएको छ।