ट्रम्पको शुल्क वृद्धिका लागि तयार रहन ईयूलाई जर्मनीको आग्रह

मेक्सिको, क्यानडा र चीनबाट आउने सामानमा शुल्क बढाउने ट्रम्पको घोषणापछि जर्मनीका अर्थमन्त्रीले युरोपेली संघ पनि यस्तै अवस्थाको सामना गर्न तयार रहनुपर्ने बताएका छन्।

जर्मनीका अर्थमन्त्री रोबर्ट हाबेकले मंगलबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले युरोपको निर्यातमा भारी शुल्क लगाउन सक्ने सम्भावनामा युरोपले तयारी गर्नुपर्ने र त्यस्ता कदमको सामना गर्न एकजुट हुनुपर्ने बताएका छन्।

आफ्नो कार्यकालको पहिलो दिनमै मेक्सिको, क्यानडा र चीनबाट आउने सामानमा व्यापक शुल्क लगाउने ट्रम्पको योजना रहेको भन्दै उनले युरोपेली संघ पनि त्यसका लागि तयार हुनुपर्ने बताएका हुन्। “युरोप वा जर्मनीमा पनि यस्तै केही हुनसक्छ भन्ने तथ्यका लागि हामी तयार हुनुपर्छ”, जर्मनीका भाइस चान्सलरसमेत रहेका हाबेकले बर्लिन व्यापार सम्मेलनमा भने।

चुनावी अभियानमा ट्रम्पले विश्वभरका वस्तुमा उच्च शुल्क लगाउने चेतावनी दिएका थिए। अमेरिका युरोपीय महाद्वीपका वस्तु निर्यातका लागि प्रमुख गन्तव्य भएकाले ट्रम्पको चेतावनीले युरोपमा चिन्ता निम्त्याएको थियो।

सोमबारको ट्रम्पको घोषणाले उनका धम्कीहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने संकेत गरेको हाबेकले बताए। “युरोपेली संघ (ईयू)ले यसको प्रतिक्रिया एकजुट रूपमा दिनुपर्छ र युरोपको रूपमा एकसाथ बोल्नुपर्छ,” महाद्वीपका नेताले प्रतिशोधात्मक उपायका बारेमा सोच्नुअघि संवाद खोज्नुपर्ने उल्लेख गर्दै उनले भने, “अन्त्यमा शुल्कबाट अमेरिकासहित सबैले हार्छन् भन्ने स्पष्ट पार्नुपर्छ।”

क्यानडा र मेक्सिकोमा कर लगाउने घोषणा गरेर ट्रम्पले वासिङ्टनसँग स्वतन्त्र व्यापार सम्झौता भएका दुई देशलाई लक्षित गरिरहेको उनले उल्लेख गरे। “जसका आधारमा हामीले आफ्नो आर्थिक, औद्योगिक र विदेश नीतिहरू समायोजित गरेका छौँ, ती नियमहरू बढी कमजोर हुँदै छन् वा तिनीहरूको पालना गरिँदैन”, हाबेकले भने।

ट्रम्पले विगतमा ईयूलाई अमेरिकासँग ठूलो व्यापार अधिशेषका लागि आलोचना गरेका थिए।

उनको पहिलो कार्यकालमा वासिङ्टनले युरोपेली इस्पात र आलुमिनियम निर्यातमा कर लगाउँदा ईयूलाई पनि अमेरिकी सामानमा कर लगाउन उत्प्रेरित गरेको थियो।

जर्मनीको निर्यातमुखी अर्थतन्त्र नयाँ अमेरिकी शुल्कबाट विशेष रूपमा प्रभावित हुने र त्यसले एक प्रतिशत विकासदर घटाउन सक्ने केन्द्रीय बैंकले हालै चेतावनी दिएको छ।