च्याम्पियन्स लिगको शीर्षमा उक्लियो इन्टर, म्यानचेस्टर सिटी रोकियो

म्यानचेस्टर सिटीले फायनउडसँग ३ गोलको अग्रता गुमाउँदै बराबरीमा चित्त बुझाएको छ। सिटी ७४औँ मिनेटसम्म ३–० ले अगाडि थियो।

तस्वीर: एपी

काठमाडौँ– इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको शीर्षस्थानमा उक्लिएको छ। मंगलबार राति आरबी लाइजिगलाई १–० ले पराजित गर्दै तालिकाको शीर्षमा उक्लेको हो।

कास्टेलो लुकेबको आत्मघाती गोलमा इन्टर विजयी भएको हो। इन्टरको ५ खेलबाट १३ अंक भएको छ। समान खेल खेलेको बार्सिलोना १२ अंकसहित दोस्रो स्थानमा छ। बार्सिलोनाले ब्रेस्टलाई ३–० ले पराजित गर्‍यो। बार्साको जितमा रोबर्ट लेवानडोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे।

यता म्यानचेस्टर सिटीले फायनउडसँग तीन गोलको अग्रता गुमाउँदै बराबरीमा चित्त बुझाएको छ। सिटी ७४औँ मिनेटसम्म ३–० ले अगाडि थियो। त्यसपछि फायनउडले ३ गोल फर्कायो। 

अरू खेलमा बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–०, आर्सनलले स्पोर्टिङ लिस्वनलाई ५–१, एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ तथा एटलेटिको मड्रिडले स्पार्टक प्रागलाई ६–० ले पराजित गर्‍यो।