युक्रेन संकटको कूटनीतिक सम्झौता तत्काल असम्भव: रुसी विदेशमन्त्री

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणले युद्ध झन् बढाउने र यसको राजनीतिक र कूटनीतिक समाधान तत्काल सम्भव नरहेको विदेशमन्त्री सर्गेई लावरोभको भनाइ छ।

रुसी विदेशमन्त्री सर्गेई लावरोभले युक्रेन संकटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन्। युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै उनले तत्काल युद्ध रोकिने सम्भावना नरहेको जनाएका हुन्।

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भनेका छन्, “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ। वासिंटन र यसका सहयोगी रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन्। ”

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई बढ्दो कदमका रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको दाबी गरे। 

राष्ट्रपति भ्लादिमिर पुटिनले आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन्। शत्रु पक्षको कुनै क्रियाकलापले रुसलाई लक्ष्य प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने उनको भनाइ छ।