सन् २०३० को विश्वकप आयोजक दक्षिण अमेरिकी देश नै हुनुपर्छ : एलेजान्ड्रो

दक्षिण अमेरिकी फुटबल प्रमुख एलेजान्ड्रो डोमिङ्गुएजले सन् २०३० को विश्वकप आयोजनाको अधिकार आफूहरूलाई दिनुपर्ने बताएका छन्।

काठमाडौँ– कतार विश्वकप २०२२ अन्तिम चरणमा पुगेको छ। उपाधि दौडमा साविकको विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोसहित चार टोली छन् र एक साताभित्रै नयाँ विश्व विजेताको टुंगो लाग्दै छ।

प्रतियोगिता सकिनुअघि नै सन् २०३० को विश्वकप आयोजनाको अधिकार लिन विभिन्न देशले फुटबलको सर्वोच्च निकाय फिफालाई दबाब दिन थालेका छन्। दक्षिण अमेरिकी फुटबल प्रमुख एलेजान्ड्रो डोमिङ्गुएजले सन् २०३० को विश्वकप आयोजनाको अधिकार आफूहरूलाई दिनुपर्ने बताएका छन्।

“उरूग्वे विश्वकपको पहिलो आयोजक हो। त्यसैले विश्वकप कसले सम्भव बनायो भनेर चिन्न पनि महत्त्वपूर्ण छ”, अस्वस्थ रहेका पेलेको स्वास्थ्यलाभका लागि आयोजित एक समारोहमा उनले भने, “यो शताब्दीको विश्वकपको आयोजक दक्षिण अमेरिकी देश नै हुनुपर्छ। आयोजक छनोटको प्रक्रियामा पैसामा कम ध्यान दिनुपर्छ।”

उरूग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो। कूल १३ टोली सहभागी विश्वकपको फाइनलमा अर्जेन्टिनालाई ४-२ गोल अन्तरले पराजित गर्दै घरेलु टोली उरूग्वेले उपाधि रक्षा गरेको थियो।

सन् २०३० को विश्वकपको आयोजक सन् २०२४ मा तय हुने छ। उक्त विश्वकपमा कुल ४८ टोलीले भाग लिने छन्। यसपटक उरूग्वेले अर्जेन्टिना, चिली र पाराग्वेसँगै सन् २०३० को विश्वकप आयोजना गर्न प्रस्ताव पेस गरेका छन्।

यता, युरोपेली राष्ट्र स्पेन, पोर्चुगल र युक्रेनले पनि संयुक्त रूपमा विश्वकप आयोजना गर्ने प्रस्ताव पेस गरेका छन्। साउदी अरबले पनि इजिप्ट र ग्रीससँग मिलेर प्रस्ताव पेस गर्ने तयारी गरेको छन्।