इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोमा परी २७ जनाको मृत्यु

पश्चिमी इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको उद्धारकर्मीहरू बताएका छन्।

पश्चिमी इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन्।

राष्ट्रिय विपद् एजेन्सीको तथ्यांकअनुसार सप्ताहान्तमा उत्तरी सुमात्रा प्रान्तका चार जिल्लामा बाढी र भूस्खलनले कम्तीमा २० जनाको ज्यान गएको थियो।

भारी वर्षापछि मंगलबार उत्तरी सुमात्रा प्रान्तको डेली सर्डाङ जिल्लाको दुर्गम सडकमा पछिल्लो भूस्खलन भएको हो।

“आजसम्म सेम्बाहे गाउँमा भूस्खलनको घटनाबाट सात जनाको मृत्यु भएको छ”, स्थानीय खोजी र उद्धार एजेन्सीका प्रवक्ता सरिमन सिटोरसले बताए। भूस्खलन हुँदा त्यस क्षेत्रबाट गुज्रिएको पर्यटक बसबाट धेरैको शव निकालिएको उनले बताए।

खोजी कार्यका लागि भारी उपकरण तैनाथ गरिएको छ। नजिकैको अस्पतालबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै सरिमनले भूस्खलनमा कम्तीमा १६ जना घाइते भएको जानकारी दिए।

इन्डोनेसियामा वर्षाको मौसममा सामान्यतया नोभेम्बर र अप्रिलको बीचमा भूस्खलन हुने सम्भावना हुन्छ तर हालैका वर्षमा प्रतिकूल मौसमका कारण केही प्रकोप सो समय सीमाभन्दा बाहिर भएका छन्।

मेमा पश्चिम सुमात्राको माराफी पर्वतको विस्फोटनबाट ढुंगा, बालुवाको मिश्रण बगेर आवासीय क्षेत्रमा खसेपछि कम्तिमा ६७ जनाको मृत्यु भएको थियो।