रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइयो

प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि पोखराबाट काठमाडौँ ल्याएको छ।

काठमाडौँ– प्रहरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलनको कसुरमा बयानका लागि पोखराबाट काठमाडौँ ल्याएको छ। उनलाई बिहीबार ६ बजेतिर बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो।

लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएको छ। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले बयानका लागि उनलाई काठमाडौँमा झिकाएको हो।

उनी पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका थिए।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। यसअघि उनलाई बयानका लागि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो।

कास्की जिल्ला अदालतको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

कास्की जिल्ला अदालत पछिल्लो पटक मंसिर ९ गते लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई १५ दिन म्याद थप गरेको थियो।