मधेश प्रदेशका गृहमन्त्रीलाई भूमिगत रहेका गोइतको धम्की

मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताएका छन्।

दायाँ गोइत र बायाँ मधेश प्रदेशका गृहमन्त्री लेखी।

काठमाडौँ– मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीलाई भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले धम्की दिएका छन्। 

मंसिर १२ गते ह्वाट्सएपमार्फत कल गरेर लेखीलाई ‘तह लगाउँछु’ भन्दै धम्की दिएका हुन्। आर्थिक सहयोग माग्दा आफूले इन्कार गरेपछि गोइतले धम्कीपूर्ण भाषा प्रयोग गरेको लेखीले उकालोसँग बताए।

“एक महिनामै तीन पटक फोन गरिसक्नुभयो। यसअघि पनि दुई पटक आर्थिक सहयोगका लागि फोन गर्नुभएको थियो। कुनै सहयोग गर्न नसकिने भन्दै आएको छु,” लेखी भन्छन्, “तर अस्ति (बुधबार) राति ९ बजे फोन गर्दा मैले सहयोग गर्न नसकिने भनेपछि ‘तपाईं गर्नसक्नु हुन्छ, कसरी गर्नुहुन्छ मलाई थाहा छ। नभए देखाउँछु म’ भन्दै धम्काउनुभयो।”

धम्कीलगत्तै आफूले मधेश सरकार प्रमुख र प्रदेश प्रहरी प्रमुखलाई जानकारी गराइसकेको लेखीले बताए। लेखीलाई पटनाको नम्बरबाट फोन आएको थियो।

गोइत तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको क्याबिनेटमा रहेका मन्त्रीहरूलाई पनि फोन गरेर आर्थिक सहयोग माग्थे। त्यतिबेला गोइतले दुइटा भारतीय नम्बरको मोबाइल नम्बरबाट फोन गरेर पैसा माग्थे।

यो पनि : पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो