भारतको आर्थिक वृद्धिदर ५.४ प्रतिशतमा झर्‍यो

अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतमा रहेको भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झरेको छ।

भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झरेको छ। अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतको तुलनामा उल्लेखनीय गिरावट भएको आधिकारिक तथ्यांकले शुक्रबार देखाएको छ।

यो तथ्यांकपछि १८ महिनाभन्दा बढी समयदेखि ६.५ प्रतिशतमा स्थिर राखेको भारतीय रिजर्भ बैंकमाथि ब्याजदर घटाउन दबाब पर्ने सम्भावना छ। भारतीय अर्थतन्त्र अघिल्लो अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशतले वृद्धि भएको थियो।

सरकारी विज्ञप्तिमा कमजोर उत्पादन र खानी गतिविधिमा अपेक्षितभन्दा कम वृद्धिको आँकडालाई जिम्मेवार मानिएको छ। 

आर्थिक वृद्धिको मध्यमस्तरको परिवर्तन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)का लागि अप्रिय समाचार हो। भाजपाले यस वर्षको आमनिर्वाचनमा पूर्ण बहुमतप्राप्त गर्न सकेन र सरकार चलाउन गठबन्धन दलहरूमाथि निर्भर छ।

भाजपाका दुई सबैभन्दा ठूला सहयोगीले आफ्ना राज्यमा पूर्वाधार परियोजनाका लागि अर्बौं डलरको आर्थिक सहायता माग गरेका छन्।

मोदी सरकारले चुनावपछिको बजेटमा असमान आर्थिक वृद्धि सम्बोधन गर्न र असन्तुष्ट मतदातालाई शान्त पार्न रोजगारी र तालिमका लागि २४ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो।

भारतमा बढ्दो खाद्यान्न लागतले मोदी सरकारलाई चुनौती थपिएको छ। साथै केन्द्रीय बैंकलाई मुद्रास्फीतिमा नरम कदम चाल्न पनि असहज बनाएको छ। 

भारतले मार्चमा ८.२ प्रतिशतको विश्व–कीर्तिमान वृद्धिदर हासिल गरेको थियो। यता, अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी २०२४/२५ को आर्थिक वर्षमा यो ७ प्रतिशतमा झर्ने अनुमान गरेको छ।