बगरफाँट–भकिम्ली सडक: खुलेको १७ वर्षपछि स्तरोन्नति

बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने र नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको छ।

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकमार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति शुरू भएको छ। २०६४ सालमा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडक खुलेको थियो। 

खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो। बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ।

गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले ५ करोड ५९ लाख रुपैयाँमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो। यस सडक स्तरोन्नतिको लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो।

यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सञ्जय सुवेदीले बताए। 

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मंगला गाउँपालिका–३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ। 

गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि पर्याप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिए।