थाइल्यान्डमा बाढीबाट ९ जनाको मृत्यु, साढे ५ लाख नागरिक प्रभावित

दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी विस्थापित भएका छन्।

दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी विस्थापित भएका छन्। उद्धारकर्ताहरूले डुंगालगायतको प्रयोग गरेर फसेका बासिन्दाको उद्धार प्रयास गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडियोमा सडकमा समेत सवारीसाधन डुब्ने गरी पानी बगेको देखाइएको छ।

दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१  घरपरिवारलाई  प्रभावित गरेको, एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेजमार्फत जनाएको छ।

विस्थापितलाई विद्यालय तथा मन्दिरमा अस्थायी आश्रयस्थल स्थापना गरी स्थानान्तरण गरिएको स्रोतले जनाएको छ। तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिका बारेमा चिन्तित रहेको बताइन्।  

नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालले बाढीका कारण चिकित्सा सुविधा प्रभावमा समस्या भएपछि अस्पतालका सेवा रोका छन्।

छिमेकी उत्तरी मलेसियामा वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउँदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन्। 

थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन चेतावनी दिएको छ।

सरकारले प्रभावित बासिन्दालाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि राहतस्वरूप १.७ मिलियन डलर बजेट विनियोजन गरेको छ।

थाई प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले शुक्रबार सामाजिक सञ्जाल एक्समा ‘यथाशीघ्र सामान्य स्थिति पुनर्स्थापित गर्ने’ लक्ष्य रहेको बताए। 

विज्ञहरूले मानव निर्मित जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन निम्त्याइरहेको जनाउँदै यसले विनाशकारी बाढीको सम्भावना बढ्ने बताएका छन्।