ब्रिक्स देशहरूलाई ट्रम्पको चेतावनी : अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत 'ट्यारिफ'

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए।

काठमाडाैँ– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ब्रिक्स राष्ट्रहरूलाई चेतावनी दिएका छन्। उनले ब्रिक्स देशहरूलाई अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत 'ट्यारिफ' लगाउने बताए। 

ट्यारिफ भनेको कुनै देशको सरकारले आयातित वस्तु वा सेवाहरूमा लगाउने कर हो। यस चेतावनीसँगै ट्रम्पले भारत, रुस, चीन र ब्राजिल रहेका नौ सदस्यीय समूह ब्रिक्ससँग प्रतिबद्धता मागेका छन्।

ब्रिक्स सन् २००९ मा गठन भएको थियो। यो एकमात्र प्रमुख अन्तर्राष्ट्रिय समूह हो जसको संयुक्त राज्य अमेरिका हिस्सा छैन। यसका अन्य सदस्यहरू दक्षिण अफ्रिका, इरान, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स हुन्। पछिल्ला केही वर्षहरूमा केही ब्रिक्स सदस्य देशहरू, विशेष गरी रूस र चीनले अमेरिकी डलरको विकल्प खोजिरहेका छन् वा बरु, तिनीहरूले आफ्नै ब्रिक्स मुद्रा सिर्जना गरिरहेका छन्। तर, रुस र चीनको यो कदममा भारत अहिलेसम्म सहभागी भएको छैन।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले भनेका छन्, ‘ब्रिक्स देशहरू डलरबाट टाढा जान खोजिरहेका छन्। हामीलाई यी देशहरूबाट एउटा प्रतिबद्धता चाहिन्छ कि उनीहरूले न नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त अमेरिकी डलरलाई प्रतिस्थापन गर्न अर्को मुद्रालाई समर्थन गर्नेछन्। यदि यी देशहरूले यसो गर्नेबारे सोच्छन् भने उनीहरूले १०० प्रतिशत ट्यारिफको सामना गर्नुपर्नेछ।’

यस्तै, ब्रिक्सले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने कुनै सम्भावना नरहेको पनि बताएका छन्। यदि कुनै पनि देशले यस्तो गर्न खोजे शुरूमा अमेरिकाबाट टाढा रहनुपर्ने उनको भनाइ छ।

२०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए। यो विचार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रस्ताव गरेका थिए।