पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
काठमाडौँ– सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
उक्त तथ्यांकअनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ। सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ। डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ। यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ।
नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५०१ पर्यटक आएका छन्। यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा ५.४० प्रतिशत बढी हो। उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक भित्रिएका थिए।
सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्यांकमा उल्लेख छ। बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए। सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए।
बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। एशिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे।
संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ। उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ। विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे।
“हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ”, उनले भने, “पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो। लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ।”
करिब ६ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ।
बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार ९१५ पर्यटक आएका छन्। संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ र चीनबाट नौ हजार ४५८ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ५११, बांग्लादेशबाट पाँच हजार १४८, अष्ट्रेलियाबाट चार हजार ८२९, थाइल्यान्डबाट चार हजार २६२, श्रीलंकाबाट चार हजार ३९५, जर्मनीबाट तीन हजार ९२६ र फ्रान्सबाट तीन हजार ८४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
कुन महिनामा कति पर्यटक
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार १६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अक्टोबरमा एक लाख २४ हजार ३९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्यांकमा उल्लेख छ।
नोभेम्बरमा एक लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
