निर्वाचन आयोगले आउँदो ४ मंसिरमा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २ असोजभित्र समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउने समयसीमा तोकेको छ ।
काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक बन्द सूचीमा एउटैलाई कति अवसर दिने भन्ने विषयमा बहस चर्किएको छ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा समानुपातिक सूचीमा एउटै व्यक्तिलाई पटकपटक अवसर दिँदा योग्य र क्षमतावानहरू संसदमा पुग्ने अवसरबाट बञ्चित भएको भन्दै आगामी निर्वाचनमा यस विषयमा पुनर्विचार गरिनु पर्ने माग चर्किएको हो ।
यसअघि स्थायी कमिटी र पोलिटव्यूरो बैठकमा यो विषय उठेको थियो । शुक्रबारदेखि शुरु केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्राथमिकता पाएको हो । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार यो बैठकले नै समानुपातिकतर्फको बन्दसूचीको निश्चित मापदण्ड तयार पार्ने छ ।
एमाले सचिव योगेश भट्टराईले भने, ‘समानुपातिक र समावेशी एक पटक पाउने विशेषाधिकार हो । लामो समय एउटै व्यक्तिले त्यो अधिकार प्रयोग गर्न हुन्न । त्यसैले समानुपातिक सूचीमा उनै व्यक्तिलाई निरन्तरता दिने कि नदिने भनेर कमिटीलाई सोधेका छौं ।’
निर्वाचन आयोगले आउँदो ४ मंसिरमा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २ असोजभित्र समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउने समयसीमा तोकेको छ । योसँगै दलहरूले समानुपातिकतर्फको बन्दसूची आयोगसमक्ष बुझाउने तयारी गरिरहेका बेला एमालेमा यो विषय पेचिलो बनेको हो ।
एमाले सांसद विन्दा पाण्डेले समानुपातिकतर्फ मात्रै नभई प्रत्यक्षतर्फ पनि एउटै व्यक्ति दोहोरिन नहुने र नयाँलाई अवसर दिइनुपर्ने माग गरेकी छन् ।
स्थायी कमिटी सदस्य हिक्मत कार्कीले समानुपातिक सूचीमा पुरानै व्यक्तिलाई दोहोर्याउने कि नदोहोर्याउने भन्ने आफूहरूको अजेन्डा भएको बताए । योसँगै कुनै निर्वाचित निकायका जनप्रतिनिधिलाई कार्यकाल अगावै आगामी निर्वाचनमा स्थान दिने या नदिने भन्नेमा पनि आफूहरूले प्रश्न उठाएको जानकारी उनले दिए। साथै स्थानीय तहको निर्वाचनमा पराजितलाई फेरि निर्वाचनमा भाग लिन दिने कि नदिने भन्नेमा पनि बैठकमा छलफल भइरहेको उनको भनाई छ ।
हाल स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लड्नका लागि समयसीमा तोकिएको छैन । समय सीमा नतोकिँदा पनि समस्या उत्पन्न भएको गुनासो बैठकमा पोखिएको छ । ‘यस्तो विषय संवैधानिक वा कानुनी होइन । पार्टीको निर्णयमा भर पर्ने कुरा हो । यसमा नेतृत्वले समयमै विचार पुर्याई निर्णय गर्नु राम्रो मानिन्छ,’ कार्कीले भने ।
उनका अनुसार पार्टीमा लामो समय योगदान पुर्याएका तर, एक पटक पनि टिकट नपाएका हजारौं कार्यकर्ता छन् ।
सांसद पद्मा अर्यालले एमाले समावेशी चरित्रको पार्टी भएकाले समानुपातिकतर्फ पनि उत्तिकै ध्यान दिन जरूरी भएको र त्यसमा नेतृत्व गम्भीर रहेको दाबी गरिन् । ‘समानुपातिक सूचीको विषयको छिनोफानो गर्न निश्चित विधि बनाउनु जरूरी छ । पार्टीमा विशाल कार्यकर्ताको पंक्ति छ । सबैलाई अवसर दिनुपर्छ । यसबारे बैठकले निष्कर्ष निकाल्ला,’ उनले भनिन् ।
सांसद झपट रावलले निर्वाचनमा टिकट दिँदा आरक्षण सिद्धान्त विपरित नहुने गरी जानुपर्छ भन्ने मान्यतामा आफूहरू रहेको बताए । उनले भने, ‘आरक्षण भनेर पटक पटक एउटै व्यक्तिलाई अवसर दिइरहने कुरा उचित होइन । यो आरक्षण सिद्धान्त विपरित हुन्छ ।’
बैठकमा प्रत्यक्षतर्फ पनि अब उम्मेदवार दोहोर्याउँने या नदोहोर्याउँने भन्ने विषयमा बहस शुरू भएको छ । प्रत्यक्षतर्फ पनि एउटै व्यक्तिलाई पटकपटक उम्मेदवार बनाउँदा पार्टी संघर्षमा जीवन खर्चिएका नेता तथा कार्यकर्ता निराश भएको भन्दै उनीहरूलाई पनि पार्टीमा स्थान दिनुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका छन् ।
एमाले सचिव भट्टराईले भने, ‘संसदीय निर्वाचन कति पटकसम्म लड्ने? कोही २०४८ सालदेखि लडिरहेका छन्। पार्टीको केन्द्रीय पदाधिकारीमा दुईपटक र ७० वर्षको नियम बनाएका छौं। संसदीय फाँटमा पनि त्यो नियम बनाएनौं भने नयाँ साथीहरुको ढोका खुल्दैन।’
बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि १० वटा समूह विभाजन गरेर छलफल शुरू गरिएको छ।
बैठकमा प्रतिवेदनसँगै उमेदवारको छनोट मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, पार्टी सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियामवली, पार्टी कामसँग सम्बन्धित नियमहरू निर्माण र समसामयिक प्रस्तावहरूमाथि छलफल शुरू भएको छ । बैठक शनिबारसम्म चल्ने छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
