सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नेपाली कांग्रेसकी सविता बुढालाई ४३ मतले पछि पार्दै माओवादी केन्द्रकी देवकी तिमिल्सिना निर्वाचित भएकी हुन्।  

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवकी तिमिल्सिना विजयी भएकी छन्। 

सोमबार राति सम्पन्न भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई ४३ मतले पछि पार्दै तिमिल्सिना निर्वाचित भएकी हुन्।  

तिमल्सिनाले एक हजार ६३७ मत प्राप्त गरिन्। बुढाले एक हजार ५९४, नेकपा एमालेका जाना शाहीले एक हजार १३२, राप्रपाका संगीता शाहीले ५१, रास्वपाका बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे। 

खसेकोमध्ये ७८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। सर्केगाडमा ६ हजार ८१० मतदाता रहेकामध्ये चार हजार ५२४ मत खसेको थियो। 

२०७९ सालमा भएको निर्वाचनबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो।