रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रस्टका उच्च पदाधिकारी र साधुसन्तसहित ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको हो।
महोत्तरी– जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ। भारतको अयोध्याबाट आएका जन्तीलाई सोमबार राति मटिहानीमा स्वागत गरिएको हो।
मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीसहित स्थानीयले स्वागत गरेका हुन्। रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रस्टका उच्च पदाधिकारी र साधुसन्तसहित ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको हो। सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ। नेपाल प्रवेश गरेपछि मटिहानीमा पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन्।
मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रूपमा परिचित छ। राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डलले बताए।
जन्ती टोली मंगलबार बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम प्रस्थान गरेको छ। जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उनका माइती र मिथिलाबासीका कुटुम्ब मानिन्छन्। मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ।
मटिहानीबाट जन्ती जलेश्वर जानेछन्। जलेश्वरनाथ महादेवको दर्शन गरेपछि महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ। मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन्।
जन्ती साँझ जनकपुरधाम पुग्ने जनाइएको छ। त्यहाँ पुगेपछि जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन्। सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट शुरू भइसकेको छ। महोत्सवको दोस्रो दिन सोमबार ‘फूलबारी लीला’ सम्पन्न भएको छ। ‘जनकपुर नगर दर्शन’ र ‘फूलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुगेको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन्।
यसैगरी तेस्रो दिन मंगलबार धनुषयज्ञ आयोजना हुँदै छ। श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ। यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन्। रामकलेवा जन्ती बिदाइ गरिने विधि हो।
यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ। अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मंसिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
