नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ भारतीयसहित ६ जना पक्राउ

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा १० जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ।

मोरङ– नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ। यो गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा १० जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दंवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बंगाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। 

उनका अनुसार निजहरूको साथबाट नगद २ लाख ७२ हजार ४३०, भारतीय रुपैयाँ २ हजार ६३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ।

निज आरोपितलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको चिमरियाले बताए।