सरकारी संरचना नै छैनन् अपांगमैत्री

अपांग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ।

डडेलधुरा– डडेलधुरास्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिको सहज पहुँच पुग्न सकेको छैन। अपांगता भएका व्यक्तिले सरकारी कामका लागि कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन्।

अमरगढी नगरपालिका–१ भेटाका गणेश ऐर नगरप्रमुखलाई भेट्न जाँदा सधैँ त्रासमा  पर्नुपर्ने अवस्था रहेको बताए। ”त्यहाँ पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधैँ डराउनुपर्ने अवस्था छ,” उनले भने। शारीरिक रूपमा अपांग ऐरजस्तै अन्य धेरै सेवाग्राही अपांगमैत्री कार्यालय नहुँदा समस्यामा छन्। अमरगढी नगरपालिकाको यो अवस्था छ भने अन्य कार्यालयको अवस्था पनि योभन्दा फरक छैन।

एकातिर कार्यालयसम्म पुग्न सहज छैन भने अर्कातिर कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गरेका छन्। जिल्लाका अधिकांश स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख, मालपोत अधिकृत, नापी प्रमुख, टेलिकम, विद्युत्लगायत सरकारी कार्यालयका प्रमुखको माथिल्लो तलामा कार्यकक्ष छ। यसले गर्दा अपांगता भएका सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्न सहज नभएको उनीहरूले बताएका छन्। 

सरकारी संरचना अपांगमैत्री नहुँदा अपांगता भएकाहरूले सास्ती भोग्दै आएका हुन्। अपांगमैत्री कार्यालय नहुँदा सिधैँ कार्यालयमा गएर आफ्ना समस्या उनीहरूले राख्न सकेका छैनन्। कार्यालय परिसरमै पुग्न नसकेका अपांगता भएकाहरूको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन। कार्यालयका सम्बन्धित अधिकारीसम्म सिधै पहुँच नहुँदा उनीहरूले समस्या भोग्दै आएका हुन्।

सरकारी कार्यालयमा अप्ठ्यारो सिँढी रहेकाले शारीरिक अपांगता भएकाहरूले सहज सेवा लिन नपाएको जिल्ला अपांग कल्याण सेवा समितिका अध्यक्ष राजेन्द्र प्रसाद पन्तले बताए। “वैशाखी, सेतो छडी बोक्नेहरूका लागि कार्यालयको सेवा कठिन भएको छ”, उनले  भने, “मुलुकमा धेरै परिवर्तन आए तर अपाङ्गका लागि सहज सेवा पाउन सकेका छैनन्।”

अपांग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ। सरकारी सेवा सहज रूपमा लिन कार्यालय प्रमुखलाई पटक–पटक भुइँतलामा बस्नुपर्ने आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको अध्यक्ष पन्तले गुनासो गरे। डडेलधुरामा चार हजार १५० जना अपांगता भएका व्यक्ति छन्।

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी भए तापनि जिल्लाका सरकारीलगायत गैरसरकारी निकायका संरचना अपांगमैत्री निर्माण भएका छैनन्। प्रत्यक्ष जनसरोकारकारका सरकारी अड्डामा पनि यो अवस्था भएपछि अपांगता भएकाहरूले आफ्नो हक अधिकारबाट वञ्चित हुनुपरेको दुखेसो पोखेका छन्।

जिल्लाका सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, यात्रु प्रतीक्षालयजस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासीय भवन, होटल तथा रेस्टुराँजस्ता सार्वजनिक भौतिक संरचनामा अपांगता भएकाहरूका लागि सहज र उपयुक्त ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गरी अपांगता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँचयोग्य बनाएर अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना बन्न नसक्दा सास्ती भोग्दै आएका हुन्।