धान काट्न मजदुरको सट्टा ‘रिपर मेसिन’

मेसिनको प्रयोगले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य भएको जलेश्वरका किसानले बताएका छन्।

जलेश्वर– सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि धान काट्न ‘रिपर मेसिन’ उपयोगी बनेको छ। 

आफैले सञ्चालन गर्न सकिने हाते ट्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी बनेको जलेश्वर–९ का किसान जितेन्द्र सिंहले बताए। चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुन्छ। 

उक्त मेसिनले एक घण्टामा १० कट्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका–८ का अर्का किसान अरुण पाण्डेले बताए। रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई–तीन लाग्ने गरेको थियो। 

धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल मेसिन चलाउने एक जना र काटिएको धान जम्मा गर्ने एक जना श्रमिक भए पुग्ने उनको भनाइ छ। 

रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य भएको जलेश्वर–२ का अर्का किसान अनिल साहले बताए। 

रिपर मेसिनको मूल्य स्थानीय बजारमा २ लाख १५ हजार रुपैयाँ पर्ने उनको भनाइ छ।