म्याग्दीमा १३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर जलजला गाउँपालिकामा वितरण गर्ने लक्ष्य छ। 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि शुरू भएको खानेपानी आयोजनाले पूर्णता पाएको छैन। 

जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका ५०० परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले २०६८ सालमा जलजला कुकुरचिहान खानेपानी आयोजना शुरू भएको थियो । 

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना पूरा हुन नसकेको बताए। “३ करोडभन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा २ लाखदेखि पाँच लाख रुपैयाँ मात्रै बजेट आउँदा निर्माणले गति लिन नसकेको हो,” उनले भने, “हालसम्म प्राप्त भएको ५० लाख रुपैयाँ खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ।”

मुलुक संघीयतामा गएसँगै योजना प्रदेश सरकारमा हस्तान्तरण भएको थियो। योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए।

“स्वच्छ खानेपानीको आशमा यहाँका स्थानीयले १३ वर्ष बिताएका छन्,” उनले भने, “निर्माण गरेका इन्टेक, रिजर्भ ट्यांकी र धारा पनि पानी नआउँदै जीर्ण भएका छन्।” म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर घर–घरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य छ। 

स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन्। चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि २ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुने वातावरण बनाउने प्रतिबद्धता जनाए।