लुम्बिनीलाई हराउँदै एनपीएलमा विराटनगरको पहिलो जित

यसअघि लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ। यसअघि लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।

लुम्बिनीले दिएको १९२ रनको विशाल लक्ष्य विराटनगरले एक बल अगावै ८ विकेट गुमाएर पूरा गर्‍यो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए। मार्टिन गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे। बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे। राजेश पुलामीले १० बलमा ४ रन जोडे। यस्तै, प्रतिस जिशीले ३ बलमा ६ रन बनाएर आउट भए। कप्तान सन्दीप लामिछाने १ रन बनाएर आउट भए। क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले २/२ र विवेक यादवले १ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए। यस्तै, टम मुर्सले ३०, अर्जुन साउदले १७, आशुतोष घिरैयाले १५ र सन्दीप जोरा १२ रन बनाए। लुम्बिनीका ४ ब्याटर रनआउट भएका थिए जसमध्ये २ वटा शानदार डिरेक्ट हिट थियो। तीबाहेक सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले १/१ विकेट लिए।

लुम्बिनी लायन्सका लागि यो लिगको पहिलो खेल हो। लगातार दुई खेल हारेको विराटनगर किंग्सले तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। विराटनगर यसअघि जनकपुरसँग ८ विकेटले तथा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो।