पर्सामा रास्वपाका सभापति लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

अदालतले बुधबार रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो।

काठमाडौँ– पर्सा जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले बुधबार रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिए।

“अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ,” उनले भने, “अदालतले अनुमति दिएकाहरूलाई कानूनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ।”

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ।

गत कात्तिक २ मा काठमाडौँबाट पक्राउ परेका रविलाई विभिन्न सहकारीको रकम अपचलनको आरोपमा कास्की, रुपन्देही, काठमाडौँ र चितवनका जिल्ला अदालतमा बयान गराइएको छ। अहिले उनी चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइरहेका छन्। उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन्।