नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

काठमाडाैँ– आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो।

नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रूपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन्। लोगोमा गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ समेटिएको छ।

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। महिला फुटबलको विकासमा प्रतियोगिता महत्त्वपूर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए। उनले भने, "लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ। आगामी वर्षहरूमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौँ।" पश्चिम नेपालको गौरवको रूपमा शुरू गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यको लागिसमेत शाहले अपिल गरे।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए। प्रतियोगितालाई सफल बनाउन एन्फाले सक्दो सहयोग गर्ने उनले बताए।