हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० भन्दा बढी घर जोखिममा

सोलुदुधकुण्ड–११ तिङ्लास्थित सारेलुकीचौर बस्तीको माथिल्लो भागमा करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दै छ, जसले स्थानीय त्रसित छन्।

सोलुखुम्बु– सोलुदुधकुण्ड–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ। वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो। 

सोलुखोलाको माथिल्लो भागबाट भएको करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दै छ, जसले स्थानीय त्रसित छन्। स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताए। यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उनले बताए। स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए। “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ। यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ,” उनले भने। 

सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टंकबहादुर कार्कीले पहिरोका कारण १०० भन्दा बढी घर जोखिममा रहेको बताए। “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने १०० देखि १५० घरपरिवार विस्थापित हुने अवस्था आउँछ। पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ।” वडाध्यक्ष कार्कीले पहिरोले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताए। 

स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाए। “राति निन्द्रा नै लाग्दैन। जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ। बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन,” उनले दुखेसो पोखे। करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मंसिर १२ गतेपछि मात्रै करिब ५०० मिटर फैलिएको उनले सुनाए। 

स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जंगलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ। त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ। पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ। 

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताए। अध्ययनका लागि स्थलगत अवलोकन गरेका टोलीले प्रतिवेदन दिएपछि सोहीअनुसार आवश्यक समन्वय गर्ने उनको भनाइ छ।