रामेछापमा घट्यो सुन्तलाको मूल्य

मन्थली नगरपालिका–१४ फुलासीमा घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्।

मन्थली– रामेछापका किसान सस्तो मूल्यमा सुन्तला बिक्री गर्न बाध्य छन्। मन्थली नगरपालिका–१४ फुलासीमा एक हजार ८०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेको कृषक तुलबहादुर तामाङले बताए। 

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए। 

अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको सुनाए। “विगतका वर्षमा बगैँचाबाटै प्रतिकिलो सुन्तला १०० रुपैयाँमा बिक्री हुने गरेको थियो, यस वर्ष भने प्रतिकिलो ७५/८० रुपैयाँमा नै दिनुपर्ने बाध्यता छ,” उनले भने।

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्। यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउँछ।   

यसवर्ष यस वडाबाट करिब २ करोड रुपैयाँको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा मारमा परेको कृषक वाइबाले गुनासो गरे। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो।

बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको कृषकको गुनासो छ। “हामीले वर्षभरि मिहिनेत गरेर उत्पादन गर्छौं, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ। सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ,” उनले भने।