सन् २०२५ का लागि ९ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य

बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफले जनाएको छ।

राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य संकटबाट प्रभावित लाखौँ युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलरको आर्थिक सहायता आह्वान गरेको छ।

बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेल बताइन्। 

“हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन्। यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा उच्च स्तरमा छ र यसका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरुरी छ,” उनले भनिन्।  

उक्त रकमले १० करोड ९० लाख बालबालिकालाई लक्षित गरी प्राथमिक स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य सेवा, खानेपानी तथा शिक्षा, कुपोषण जाँच र लैंगिक हिंसा न्यूनीकरणमा पहुँचका लागि सहयोग गर्नेछ।